अपरेशन सिन्दूरपछि भारत–पाकिस्तान वार्ता: अजित डोभाल र असीम मलिकबीच सम्पर्क

भारतको ‘अपरेशन सिन्दूर’ मार्फत पाकिस्तान र पीओकेका आतङ्कवादी अखडाहरूमा हवाई आक्रमण भएपछि दुई देशबीच औपचारिक वार्ता सुरु भएको छ। भारत र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार (NSA) बीच टेलिफोनमा कुराकानी भएको छ।
भारतका NSA अजित डोभाल र पाकिस्तानका असीम मलिकबीच भएको यो सम्पर्कको जानकारी पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले मिडियामार्फत दिएका छन्। टर्कीको टीआरटी वर्ल्डले मे ७ मा राति यो कुराकानी भएको उल्लेख गरेको छ।
यो वार्ता अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारतले गरेको हवाई आक्रमणको जवाफी कदमपछि भएको पहिलो सम्पर्क हो। दुई NSA बीचको कुराकानीको विस्तृत जानकारी बाहिर आएको छैन, तर यो परमाणु शक्ति सम्पन्न दुई छिमेकी मुलुकबीच बढ्दो सैन्य तनाव कम गर्ने प्रयासका रूपमा लिइएको छ।
हालसम्म भारत र पाकिस्तान दुवैले यो वार्ताबारे आधिकारिक रूपमा केही भनेका छैनन्।